Rule 122
उपचार खर्च
(१) स्थायी शिक्षकलाई सेवा अवधिभरमा निजले खाई पाई आएको तलवको हिसाबले हुने गरी देहाय बमोजिम उपचार खर्च दिइनेछः–
(क) माध्यमिक विद्यालयको शिक्षकलाई बाह्र महिना बराबरको तलव रकम,
(ख) निम्न माध्यमिक विद्यालयको शिक्षकलाई अठार महिना बराबरको तलव रकम,
(ग) प्राथमिक विद्यालयको शिक्षकलाई एक्काइस महिना बराबरको तलव रकम ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि माध्यमिक तहको शिक्षक सरह शुरु तलव स्केल भएको प्राथमिक तथा निम्न माध्यमिक तहको शिक्षकले माध्यमिक शिक्षक सरह र निम्न माध्यमिक तहको शिक्षक सरह शुरु तलव स्केल भएको प्राथमिक तहको शिक्षकले निम्न माध्यमिक शिक्षक सरह उपचार खर्च पाउनेछ ।
(३) कुनै शिक्षक वा निजको परिवारको सदस्य विरामी भएमा उपनियम (१) बमोजिम पाउने रकममा नबढ्ने गरी देहाय बमोजिम भएको उपचार खर्च प्रदान गरिनेछः–
(क) रोगको उपचारको निमित्त स्वीकृत चिकित्सकसँग जाँच गर्दा लागेको शुल्क तथा जाँच गरी लेखिदिएको प्रेस्कीप्सन अनुसार औषधि किनेको खर्च,
(ख) स्वास्थ्य संस्थामा भर्ना हुँदा र उपचार गराउँदा लागेको बील बमोजिमको खर्च,
(ग) प्लाष्टिक सर्जरी बाहेक सबै किसिमको चिरफार (सर्जिकल अपरेशन) गर्दा लागेको बील बमोजिमको खर्च ।
(४) बीस वर्ष भन्दा कम सेवा अवधि पुगेको शिक्षकलाई औषधि उपचारको लागि निकासा दिंदा बीस वर्षको अवधिलाई सेवाको पूरा अवधि मानी त्यसको अनुपातमा निजले गरेको सेवा अवधिको हिसाव गरी यस नियम बमोजिम उपचार खर्च दिइनेछ ।
(५) भविष्यमा शैक्षिक नोकरीको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट वर्खास्त गरिएको अवस्थामा वाहेक अरु जुनसुकै व्यहोराबाट शिक्षक सेवाबाट अलग हुँदा यस नियम बमोजिम सेवा अवधिभरमा पाउने उपचार खर्च मध्ये केही लिई वा नलिई उपचार खर्च लिन बाँकी रहेको भए शिक्षकले त्यस्तो बा“की रकम एकमुष्ट लिन पाउनेछ ।
तर निवृत्तभरण पाउने गरी सेवाबाट अलग भएको शिक्षकले उपचार खर्च वापत लिन बा“की रकममा बीस वर्ष, पच्चीस वर्ष वा सोभन्दा बढी सेवा अवधि भएको शिक्षकले क्रमशः दश, पन्ध्र र बीस प्रतिशत थप गरी हुन आउने रकम एकमुष्ट लिन पाउनेछ ।
(६) यस नियम बमोजिम स्वास्थ्य संस्थामा भर्ना भई वा विदेशमा गई उपचार गराउनु पर्दा वाहेक शिक्षकलाई एक आर्थिक वर्षमा एकै पटकमा वा पटक पटक गरी औषधी खर्चको रकम दिंदा बीस वर्षको अवधिलाई सेवाको पूरा अवधि मानी त्यसको एक वर्षको दामासाहीले हुने रकम मात्र उपचार खर्च दिन सकिनेछ ।
(७) यस नियम बमोजिम शिक्षकले पाउने उपचार खर्चको अभिलेख जिल्ला शिक्षा कार्यालयले राखी त्यसको विवरण सम्बन्धित विद्यालय, शिक्षक किताबखाना र निर्देशनालयमा अभिलेख राख्न पठाउनु पर्नेछ ।
(८) झुट्टा व्यहोरा पेश गरी यस नियम बमोजिम उपचार खर्च माग गर्ने वा प्राप्त गर्ने शिक्षक उपर विभागीय कारबाही हुनेछ ।